मोरङ/सवारीसाधनको चाप धेरै हुने पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङ खण्डमा पछिल्लो समय सवारी दुर्घटना अत्यधिक बढेको छ ।
दुर्घटना धेरै हुँदा मानवीय र भौतिक क्षति पनि बढिरहेको छ । सुन्दरहरैँचाको बूढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मको करिब ३६ किलोमिटर सडकमा पछिल्लो १० दिनभित्र १७ वटा सवारी दुर्घटना भएका छन् । मंसिर १ देखि १० गतेसम्मको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी जोशीले बताए । अधिकांश मोटरसाइकल दुर्घटनामा परेको जानकारी उनले दिए ।
पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा मंसिर १ गते दिउँसो २ः३० बजेतिर टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको थियो । पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको हो ।
उपचारका क्रममा उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मोटरसाइकल क्षतिग्रस्त भएको छ भने उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग हुँदै आएको थियो ।
पथरीशनिश्चरे नगरपालिका–१ जाँते मोडमा मंसिर २ गते बिहान ११ः२० बजेतिर अर्को दुर्घटना भयो । पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ मोटरसाइकललाई बिहान ११ः२० बजेतिर ठक्कर दिएको थियो ।
त्यसपछि अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भयो । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भइन् । उनको न्युरोमै उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै पिकअप चालक झापाको दमक नगरपालिका–५ का ५१ वर्षीय युवराज आचार्य र बस चालक झापाको मेचीनगर नगरपालिका–८ का ५६ वर्षीय अमरबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । तीनवटै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन् ।
मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मंसिर ६ गते अपरान्ह ४ः४५ बजेतिर दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भयो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पथरीशनिश्चरे–४ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र झापाको दमक नगरपालिका–१० का २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ । धिमाल र गुरुङको अस्पताल पुर्याउनसाथ र लिम्बूको उपचारका क्रममा मृत्यु भएको थियो ।
गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरिदिए ।
दुर्घटनामा पथरीशनिश्चरे–५ का ४२ वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन् । उनको बी एन्ड सी अस्तालालमा उपचार भइरहेको छ ।
सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायस गाडीले मंसिर ९ गते अर्थात आइतबार दिउँसो ३ बजेतिर साइकलयात्रीलाई ठक्कर दियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । प्रहरीले हायस र चालक झापाको भद्रपुर नगरपालिका–८ का २६ वर्षीय विशाल दासलाई नियन्त्रणमा लिएको छ ।
पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डनजिक मंसिर १० गते अर्थात सोमबार साँझ ७ बजेतिर दुर्घटना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भयो ।
प्रहरीका अनुसार उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै प्रहरीले लहरी र चालक भारतको उत्तर प्रदेश मिर्जयापुर बस्ने ४२ वर्षीय दिनेशकुमार दासलाई नियन्त्रणमा लिएको छ ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले पूर्व–पश्चिम राजमार्गको मोरङ खण्डमा पछिल्लो समय दुर्घटनाको अवस्था भयावह बनेर गएको बताए । ‘राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ । सवारीसाधन कुद्नलाई बीचमा २ लेनको पिच सडक मात्रै छ । दुवैतर्फ ठुल्ठूला खाल्डा बनाइएका छन् । सडक निर्माण चलिरहेकाले दुर्घटना धेरै भयो,’ उनले भने ।
एसपी घिमिरेका अनुसार साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना धेरै भइरहेको पाइएको छ । दुर्घटना बढी भएका र हुनसक्ने सम्भावित ठाउँहरुमा सडक विभाग तथा निर्माण कम्पनीसँग समन्वय गरेर ‘स्पिड ब्रेकर’ लगाउने तयारी भइरहेको उनको भनाइ छ ।
अधिकांश दुर्घटना मोटरसाइकलले जथाभावी ‘ओभरटेक’ (अर्को सवारीसाधनलाई उछिन्ने) गर्दा भइरहेको ट्राफिक प्रहरीको विश्लेषण छ । ‘गलत ठाउँको ‘ओभरटेकिङ’ले दुर्घटना बढ्यो । अधिकांश दुर्घटना मोटरसाइकलका कारण भइरहेको छ,’ घिमिरेले भने ।
उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सक्रियता बढाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमदेखि सवारी चालकलाई प्रशिक्षण दिनेलगायतका काम भइरहेको उनले बताए । पछिल्लो समय विशेष गरेर मोटरसाइकललाई लक्षित गरी चालकलाई प्रशिक्षण दिन थालिएको जानकारी एसपी घिमिरेले दिए ।